निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण गर्न थालेको छ। रुख कटान तथा निर्माण गतिविधिले प्राकृतिक बासस्थानमा खलल पुग्न सक्ने चमेरालाई आश्रय दिने उद्देश्यले यो पहल सुरु गरिएको हो।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार आयोजनाको वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजना अन्तर्गत यी काठे बासस्थानहरू निर्माण गरिँदैछ। राष्ट्रिय वन्यजन्तु विज्ञले चमेराका यी घरहरूको डिजाइन गरेका हुन् र निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र पहिचान गरिएका उपयुक्त स्थानहरूमा यस्ता तीनवटा संरचना स्थापना गरिनेछ।
प्राकृतिक पारिस्थितिकीय प्रणालीमा चमेराले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समावेश गरिएको छ। यस कार्यक्रमले विकास निर्माणका गतिविधिबाट पर्न सक्ने सम्भावित नकारात्मक असरलाई न्यूनीकरण गर्नुका साथै स्थानीय प्रजातिका चमेरालाई सुरक्षित आश्रय सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
ऋषिङ गाउँपालिकामा निर्माणाधीन १४० मेगावाटको यस आयोजनाले भौतिक पूर्वाधार निर्माण कार्यसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका गतिविधिहरूलाई पनि निरन्तरता दिँदै आएको छ।




