
1 min read
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न अनुमति दिइएको छ। निर्वाचन आयोगका अनुसार मतदान हुने दिनभन्दा १५ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्नेछन्। आयोगले निर्वाचनको निष्ठा र मर्यादा कायम राख्न दल, उम्मेदवार तथा सरोकारवाला सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने जनाएको छ। यस अवधिमा उम्मेदवारहरूले औपचारिक रूपमा मतदातासँग मत माग्न पाउनेछन्। निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। आचारसंहिता उल्लङ्घन भएको खण्डमा सम्बन्धित दल वा उम्मेदवारलाई स्पष्टीकरण सोधिने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने आयोगले स्पष्ट पारेको छ। आयोगका अनुसार आचारसंहिता राजनीतिक दल तथा सरोकारवाला पक्षहरूसँग व्यापक छलफलपछि तयार गरिएको हो। सबै राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।
Marketminds Investment Group
·16 Feb, 2026


















