
बजारबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आज असार ८ मा बोलकबोल
बजारबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आज असार ८ मा बोलकबोल बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार (असार ८ गते) ६० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमार्फत ४२ दिनका लागि निक्षेप संकलन बोलकबोल प्रक्रियाबाट सो रकम संकलन गरिनेछ । यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोल ब्याजदरमा हुनेछ भने बहुब्याजदरको आधारमा पनि बहुबोलकबोल गर्न सकिनेछ । आवेदन दिने क्रममा संस्थाले निक्षेपको रकम र ब्याजदर (दशमलव पछाडिको चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ । बोलकबोलका लागि आवेदन राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत आज अपरान्ह ३ बजेभित्र दिइसक्नुपर्नेछ ।


















